नारायणी रंगशालाको अवस्थाले चिन्तित बनायो : मन्त्री चौधरी

वीरगंज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशरथ रङ्गशालापछिको नेपालकै दोस्रो ठूलो नारायणी रंगशालाको हालको अवस्था हेर्दा आफू चिन्तित भएको बताउनु भएको छ ।
नारायणी रंगशालाको आज एक कार्यक्रमका बिच स्थलगत अवलोकन गर्नु हुँदै खेलकुद मन्त्री चौधरीले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा आयोजना हुने निर्णय भएको हुँदा मधेशका रङ्गशालाहरूको स्थिति हेर्न आफू वीरगंज आई पुगेको बताउनु भयो ।
उहाँले विगतमा प्रचण्ड सरकारले बजेट बनाउँदा मधेश प्रदेशको कुनै पनि रंगशालाको लागि बजेट नछुट्याएको प्रति दुःख व्यक्त गर्दै नारायणी रङ्गशालालाई अब अर्थमन्त्रीसँग समन्वय गरेर स्तरउन्नतीका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवालले सङ्घीय सरकार र प्रदेश सरकारको समन्वयमा वीरगञ्जको गौरवको रुपमा रहेको नारायणी रंगशाला पुर्ननिर्माण गरिने बताउनु भयो ।
विगत एक दशक अगाडी सम्म अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता समेत आयोजना हुँदै आएको नारायणी रंगशाला जीर्ण बनेसँगै जिल्ला स्तरका खेलकुद प्रतियोगिता समेत आयोजना हुन छाडेका छन् ।
वीरगञ्जको नारायणी रंगशालाको निरीक्षणका लागि सङ्घीय सरकारका आधा दर्जन भन्दा बढी खेलकुद मन्त्रीहरू आएर स्थलगत अवलोकन गर्नुका साथै रंगशाला पुर्ननिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि रंगशालाको कुनै स्वरूप परिवर्तन हुन सकेको छैन ।







प्रतिक्रिया राख्नुहोस्