बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुल्यो, २७ जनाको उपचार चल्दै
नेपालगञ्ज । बाँकेमा भएको बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको मृत्यु भएको हो ।
मृतक ओली बसका यात्रु र भुषाल बसका सहचालक रहेको प्रहरीले जनाएको छ । दुवै जनाको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
नेपालगञ्ज कोहलपुर सडकखण्ड अन्तर्गत गनापुरमा आज मध्यान्ह भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा २७ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइते २७ जना मध्ये भेरी अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना र एक जनाको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार चलिरहेको छ । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । चालकले बसको पट्टा भाँचिएर दुर्घटना भएको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्