‘बैङ्किङ कसुर र चेक अनादरका घटनाहरू बढेकाले विधेयक छिटो पास गरी अघि बढ्न आवश्यक’

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र अदालती कारबाहीलाई सरल, व्यवस्थित, व्यवहारिक र प्रभावकारी बनाउन कानुन संशोधन आवश्यक रहेकाले विधेयक ल्याइएको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा क्रममा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैङ्किङ कसुर र चेक अनादरका घटनाहरू बढ्दै गएकाले विधेयक छिटो पास गरेर अगाडी बढ्नु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले बैङ्क तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरी अन्य व्यक्तिलाई ठगी गरी खाने अवस्था बढिरहेकाले बैङ्किङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र न्याय निक्र्यौल गर्न सहज हुने गरी सरकारले विधेयक पनि स्पष्ट पार्नुभयो ।
समितिले हालसम्म बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धमा अर्थ मन्त्री पौडेलसँग दुुईपटक गरेको र विज्ञ, नेपाल राष्ट्र बैङ्क, महान्यायाधिवक्तासँग छलफल सकेको समितिका सभापति सन्तोष चालिसेले जानकारी गराउनुभयो ।
समिति सभापति चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अब संशोधन कर्ता सांसदहरूसँग छलफल गर्ने र विधेयकमाथि दफावार छलफल गरेर बढ्ने बताउनुभयो ।
उहाँले प्रतिनिधि सभाबाट समितिमा आएका ४ वटा विधेयक जतिसक्दो छिटो सक्नेगरी समिति अगाडी बढ्ने पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्