तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटनामा मृत्यु भएकाहरूको शव भारत लगियो

चितवन । तनहुँको ऐना पहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकिएपछि भारतीय एयरफोर्सको जहाजबाट आज बेलुका साँढे पाँच बजेतिर भरतपुर विमानस्थलबाट भारत लगिएको हो ।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थल मार्गबाट गोरखपुरतर्फ लगिएको छ ।

मृतकहरूको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आउनुभएको थियो । उहाँ पनि सोही जहाज चढेर जानुभएको छ ।

मृतक यात्रुका शव शुक्रबार राती नै आबुखैरेनीबाट भरतपुर ल्याइएको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा पशुपतिनाथमा दर्शनका लागि हिँडेका २७ पर्यटकको मृत्यु भएको थियो । मृतकमध्ये १५ जना महिला, ११ जना पुरुष र एक जना चार वर्षकी बालिका रहेकी छन् । घाइते हुनेहरूमा ६ जना पुरुष र १० जना महिला रहेका छन् ।

प्रहरीका अनुसार बसमा सवार ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतक र घाइते हुनेमा भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका बासिन्दा हुन ।

शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button