चितवन: एक महिनामै ३८९ जनामा डेंगु संक्रमण
चितवन । चितवनमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ ।
साउन महिनामा मात्रै चितवनमा ३८९ जनामा डेंगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सङ्क्रमितमध्ये २७४ जना चितवनकै बिरामी हुन् भने ११५ जना भने बाहिरी जिल्लाका बिरामी छन् ।
‘साउन महिनाभर परीक्षण भएका एक हजार ४८१ जनामध्ये ३८९ जनामा डेंगु सङ्क्रमण देखिएको छ’, जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले भन्नुभयो, ‘एक महिनामै यति धेरै सङ्ख्यामा डेंगु देखिनु अलि जोखिमपूर्ण नै हो ।’
चालू आर्थिक वर्षको एक महिनामा फैलिएको सङ्क्रमितको सङ्ख्या हेर्दा यो वर्ष डेंगुका बिरामी बढ्न सक्ने अनुमान गरिएको छ ।
लार्भा खोज र नष्ट अभियान जारी
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चितवनका सबै पालिकासँग समन्वय गरेर यस वर्ष पनि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीका अनुसार गत असारदेखि नै जिल्लाका विभिन्न पालिकाहरूमा यो अभियान चलाउन सुरु गरिएको हो ।
धेरैजसो विभिन्न प्रकारका मानवनिर्मित घरेलु सामग्रीहरूमा डेंगुले बासस्थान बनाउन सक्ने हुँदा हरेक नागरिकलाई सचेत गराउने काम गरिएको उहाँले बताउनुभयो । ‘थोत्रा टायर, गमला, फ्रिजको पानी बाहिर निस्किएपछि जम्ने भाँडो लगायतमा डेंगु फैलाउने लामखुट्टेले बास बनाउन सक्छ’, उहाँले भन्नुभयो, ‘त्यसकारण त्यस्ता सामग्रीमा पानी जम्न दिनुहुँदैन ।’
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु सङ्क्रमण फेला परेको थियो, त्यो पनि चितवनमै । त्यसयता नेपालका विभिन्न जिल्लाहरूमा सङ्क्रमण फैलिँदै आएको छ । खासगरी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ ।







प्रतिक्रिया राख्नुहोस्