तपाईँ सुन्दै हुनुहुन्छः

झुलनोत्सव पर्व सम्पन्न

महोत्तरी । जिल्लाको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइने झुलनोत्सव पर्व आज बिहान सम्पन्न भएको छ ।

यस वर्ष भदौको तृतीयादेखि पूर्णिमासम्म मनाइएको सो पर्व गएराति भगवान् रामचन्द्र र माता जानकीलाई लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला झुलाउँदै आज बिहान झुलनोत्सव पर्व सम्पन्न भएको हो ।

तृतीयादेखि पूर्णिमासम्म चलेको झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा झुलाइएको थियो ।  

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ सम्पन्न भएको छ । साधु, सन्त, महात्मा र मिथिलावासीहरू मिलेर झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ गएराति अन्तिम झुला रहेकाले रातभरि झुला झुलाइएको लक्ष्मीनारायण मठका मानमहन्थ जगन्नाथ दास वैष्णवले बताउनुभयो । उहाँका अनुसार भगवान् रामसीता साउनमा यसैगरी झुला झुलेको सम्झना गर्दै प्रत्येक वर्ष तृतीयादेखि पूर्णिमासम्म झुलनोत्सव पर्व सम्पन्न गरिन्छ । 

सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिएको थियो । मेला हेर्न र भगवान् रामसीताको झुलनोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि श्रद्धालु भक्तजन आएका वैष्णवले जानकारी दिनुभयो ।

सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायणलगायत मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ ।

मिथिला क्षेत्रमा प्रत्येक वर्ष रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनकता सुरु हुन्छ भने प्रत्येक मठमन्दिरमा राति अबेरसम्म कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरू जम्मा हुने भजनकीर्तन गर्ने, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने प्रचलन छ ।

झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीहरुले आफ्ना आराध्य खेलाई झुलाउने परम्परा छ । भारतको वृन्दावनमा पनि झुला पर्व कृष्णलीलाका रुपमा मनाइन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button