तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा ५ सय १२ जनामा डेंगीको सङ्क्रमण

धनकुटा । कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण बढ्दै गएको छ ।

कोशी प्रदेशमा यस आर्थिक वर्षको १ महिनाको अवधिमा ५ सय १२ जनामा डेंगी संक्रमण देखिएको छ। कोशी प्रदेशका १४ जिल्लामध्ये मोरङ, धनकुटा र झापामा डेंगीको संक्रमण बढी देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा यस आर्थिक वर्षमा सबैभन्दा बढी मोरङमा संक्रमण बढी मात्रामा संक्रमण देखिएको छ।

यस्तै ५ वटा जिल्लामा यो आर्थिक वर्षमा संक्रमण देखिएको छैन। यस आर्थिक वर्षको भदौ २ गतेसम्म मोरङमा ३ सय २७, धनकुटा ४९, झापामा ४६, सङ्खुवासभामा ३५ र भोजपुरमा ३२ जना डेंगी संक्रमण बढेको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो। यस्तै ओखलढुङ्गामा १३, खोटाङमा ४, पाँचथरमा ४, र तेह्रथुममा २ जनामा संक्रमण बढेको छ। यता, ताप्लेजुङ, इलाम, सुनसरी, उदयपुर, र सोलुखुम्बुमा यो आर्थिक वर्षमा डेंगी संक्रमित थपिएका छैनन्। 

डेंगी सङ्क्रमणबाट यस आर्थिक वर्षमा झापामा १ जनाको मृत्यु भएको निर्देशनालयका फोकल पर्सन सुरक्षा खत्रीले जानकारी दिनुभयो। डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन खत्रीले जानकारी दिनुभयो। डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो। 

यसैबिच डेंगी संक्रमण बढ्दै गएपछि धनकुटा अस्पतालमा सङ्क्रमणका बिरामी बढ्न थालेका छन्। हाल सहज र सरल रुपमा परिक्षण भइरहेको साथै महामारीको अवस्था नआएको धनकुटा अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताभ ठाकुरले जानकारी दिनुभयो।

उहाँले टेष्टकिट उपलब्ध गराउने जिम्मा स्वास्थ्य कार्यालयको रहेको र अहिलेसम्म सहज रहेको जानकारी दिनुभयो। यता धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले डेंगी नियन्त्रणका लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको र त्यसका लागि आवश्यक योजना तयार गरि लागि परेको बताउनु भयो। उहाँले आवश्यक परेमा नष्ट गर्ने अभियान चलाउने तयारीमा रहेको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button