बाँकेमा प्रभावकारी बन्दै बालिका शिक्षा कार्यक्रम

बाँके । बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । जिल्लाका आठमध्ये चार पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ।
बाँकेमा बालिका शिक्षा कार्यक्रमको प्रभावकारितासँगै बालबालिकाहरूको व्यवहारमा परिवर्तन देखिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूको जीवनशैली समेत फेरिएको छ ।
रुम टु रिडले बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा सञ्चालन गरेको परियोजना अन्तर्गत बालिकाहरूको सिकाइमा परिवर्तन आएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथिका बालिकाहरूलाई जीवन उपयोगी सिप, परामर्श, परिवार विद्यालय र समुदायको संलग्नता, शैक्षिक सामाग्री सहयोगले बालिकाहरूमा परिवर्तन आएको परियोजनाका वरिष्ठ कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार बालिका शिक्षा कार्यक्रम बाँके, बर्दिया ,सल्यान, प्युठान, र कैलाली जिल्लामा सञ्चालन गरिएको छ ।
नेपालगन्जमा बसेको परियोजना सल्लाहकार समितिको बैठक तथा समीक्षा कार्यक्रममा भएका उपलब्धिबारे जानकारी गराइएको थियो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले रुमटुरिडद्धारा सञ्चालित परियोजनाले विशेष गरि बालबालिकाको व्यवहार परिवर्तन गरेकोले जिल्लाका अन्य स्थानीय तहमा पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादवले विद्यालयमा गरिएका विभिन्न क्रियाकलाप तथा कार्यक्रमको प्रभावकारितालाई सिकाईको रुपमा अन्य विद्यालयमा पनि जोड्नुपर्नेमा जोड दिनुभयो ।
जिल्लाका चार वटा पालिकामा विगत ८ वर्षदेखि उक्त कार्यक्रम सञ्चालन हुँदै आएको बालिका शिक्षा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राईले जानकारी दिनुभयो । कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीपमूलक शिक्षा प्रदान गर्नुका साथै आत्मविश्वास बढाउने खालका गतिविधिहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
आफ्ना अधिकारका बारेमा छात्राहरूलाई सचेत बनाउँदै आदर्श व्यक्ति बन्ने बारे, भविष्यमा गर्ने पेसाको बारे, यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धमा, चिनिजानेकाबाट हुने बलात्कार सम्बन्धमा, स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको राईले जानकारी दिनुभयो ।
२०१५ देखि सञ्चालित परियोजनाले विशेष गरि बालबालिकाहरूको जीवनशैलीमा परिवर्तन ल्याएको छ।








प्रतिक्रिया राख्नुहोस्