परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरू लगायतका विविध विषयमा छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत् भारतसँग कुरा उठाउनुभएको थियो ।

भेटका क्रममा मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाउनुभएको थियो । सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा. राणाले उठाउनुभएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो ।

त्यसैगरी मन्त्री डा. राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाँडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलाको पुल उद्घाटनबारे पनि प्रसङ्ग उठाउनुभएको थियो । साथै सो शिष्टाचार भेटका क्रममा मन्त्री डा. राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गर्नुभएको थियो । मन्त्री डा. राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरूको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो







प्रतिक्रिया राख्नुहोस्