तपाईँ सुन्दै हुनुहुन्छः

भाँसिएको कमला पुल छेउमा नयाँ पुल निर्माणको माग सहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा तथा सिराहालाई जोड्ने कमला नदिमा नयाँ पुलको निर्माणको माग गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहलाई आज ज्ञापनपत्र बुझाएको छ । 

सिरहा जिल्लाबाट मोटरसाइकल जुलुस सहित आएका सिरहा तथा धनुषाका स्थानीयवासीहरु जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा भेला भएर पैदल मार्च गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 

सङ्घर्ष समितिका संयोजक इन्जिनियर प्रवीण कुमार यादवको नेतृत्वमा आएका व्यक्तिहरूले मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिँदै ७ दिनभित्रमा कमला नदिमा भासिएको कमला पुलको छेउमा नयाँ पुलको निर्माणको प्रक्रिया अगाडी बढाउनका लागि माग गर्नु भएको हो । 

पहिलाको पुल प्राविधिक रुपमा नै फल्ट भएकाले नयाँ पुलको निर्माण प्रक्रिया अगाडी नबढाएको खण्डमा अबको ७ दिनपछि आफूहरू जनकपुरधाममा नै आएर आमरण अनसनमा बस्ने सङ्घर्ष समितिका संयोजक यादवले जानकारी दिनु भयो । 

कमलाको एक वटा पुल निर्माणका लागि प्रदेश सरकार नै सक्षम भएकाले प्रदेश सरकार आफूहरूको अभिभावक भएकाले नै पुलको निर्माणका लागि ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिका पदाधिकारीहरूको कथन रहेको छ । १३ वर्ष पछि कमलामा पुलको निर्माण भएपनि कमजोर भएकाले पुल भाँसिएको थियो ।  

सङ्घर्ष समितिका सल्लाहकार तथा इन्जिनियर दिनेश यादवले भाँसिएको कमला पुलको डिजाइन गलत हुनुका साथै पुलका सबै पायाहरु बाङ्गो रहनुका साथै पायाको गहिराई तोकिए अनुसार नभएकाले गहिराईको भिडियो एक्स-रे गरेर एकिन गर्नका लागि माग गर्दै भासिएको पुलमा मरम्मतको नाउँमा बजेट निकासा बन्द गरेर नयाँ पुलको निर्माणको  थालनी गर्नका लागि माग गर्नु भयो । 

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहले कमला नदिमा भासिएको पुल हुलाकी राजमार्गमा पर्ने भएकाले प्रदेश सरकार मातहत नभएकाले यस विषयमा प्रधानमन्त्री तथा संघीय भौतिक तथा पूर्वाधार यातायातमन्त्रीसंग कुरा गर्ने बताउनु भयो । 

उहाँले पुल आफूहरूको अधिनमा नरहेको बताउँदै यसमा काम गर्नका लागि संघ सरकारको अनुमति प्राप्त हुन जरुरी रहेको र यसका लागि आफूले आजै देखि नै प्रक्रिया अगाडी बढाएको बताउनु भयो । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सरोज कुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी सहितका नेताहरू सहभागी रहनु भएको थियो । 

अहिले कमला पुल नभएका कारणले मधेश प्रदेशको राजधानी जनकपुरधाम आउनका लागि सिरहा तथा सप्तरी जिल्ला बासीलाई दुई गुणा बढी दूरी तथा समय लाग्ने गरेको छ । कमला नदिको हुलाकी राजमार्गको पुल निर्माणको माग गर्दै पटक पटक सङ्घर्ष समिति निर्माण गरेर स्थानीयले सङ्घर्ष गरेपनि हालसम्म पनि निर्माण हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button