तपाईँ सुन्दै हुनुहुन्छः

‘अदालतलाई पारदर्शी र उत्तरदायी बनाउने जिम्मा न्यायाधीशको’

वीरगन्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले अदालतलाई पारदर्शी र उत्तरदायित्व बनाउने जिम्मा न्यायाधीशहरूको भएको बताउनुभएको छ ।

गृह जिल्ला पर्सामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज र जिल्ला अदालत पर्साको स्थलगत अवलोकनपछि आयोजित कार्यक्रममा मन्त्री चौरसियाले अदालतमा भौतिक संरचना र कर्मचारीहरूको अभावसहितका समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो ।

उहाँले न्यायपालिका राज्यको प्रमुख अङ्ग भएको हुँदा यसले सुदृढ, व्यवस्थित र पारदर्शी रुपमा न्याय सम्पादन गर्न सके मात्र जनताले कानुनी राज्यको अनुभूति गर्न सक्ने बताउनुभयो ।

मन्त्री चौरसियालाई उच्च अदालतका अस्थायी इजलास वीरगन्जका प्रमुख न्यायाधीश डा. रत्नबहादुर बागचन्द र जिल्ला अदालत पर्साका प्रमुख न्यायाधीश दिपक खनालले अदालतको भौतिक संरचनाबारे जानकारी गराउनुभएको थियो ।

स्थलगत अवलोकनको क्रममा न्यायाधीश बागचन्दले मन्त्री चौरसियालाई कानुन संशोधन मार्फत अस्थायी इजलासलाई स्थायी बनाउनमा भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button