तपाईँ सुन्दै हुनुहुन्छः

‘जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न नेपाल र भारत मिलेर काम गर्नुपर्छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल र भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो । “हिमाल र पानीको सुरक्षामा नै मानव जातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ”, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जन स्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको बताउनुभयो । उहाँले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सरकारका कैंयौ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिनुभयो ।

नेपाल भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पार्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button