तपाईँ सुन्दै हुनुहुन्छः

जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित

काठमाडौँ । जिज्ञानकुमार थापाको गैर आख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ । चक डस्टर प्रालिले प्रकाशन गरेको उक्त पुस्तक नेपालका लागि जापानी राजदूत किकुता युताका लगायतले लोकार्पण गर्नुभयो ।

राजदूत युताकाले आफूले लेखक थापालाई लामो समयदेखि चिनेको र पुस्तक लोकार्पणमा आउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले पछिल्लो समय जापानमा नेपाली विद्यार्थी र कामदारको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूका लागि जापानमा बस्न र जापानी नागरिकबीच घुलमिल हुनका लागि यो पुस्तक सहयोगी हुने बताउनुभयो । उहाँले अब जापानले पनि नेपालको संस्कृतिबारे पनि जान्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराईले पुस्तक जापान जान चाहनेका लागि निकै उपयोगी हुने बताउनुभयो । “मेरो कूटनीतिक जीवनको ३७ वर्षमध्ये जापानमा रहँदा त्यहाँको रहनसहन र जनताको व्यवहारबाट निकै प्रभावित भएको थिएँ, जापानबारे बुझ्न यो पुस्तक थप सहयोगी हुने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

पुस्तकमाथि चर्चा गर्दै शैलेन्द्र अधिकारीले जापान जान चाहनेका लागि त्यहाँ गएर काम खोज्न, त्यहाँको संस्कार सिक्न, घुलमिल हुनका लागि पुस्तक सहयोगी बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

लेखक थापाले सुरुमा पुस्तक निकाल्ने योजना नभए पनि धेरैको सल्लाह र सुझावपछि पुस्तकको आकार दिइएको बताउनुभयो । उहाँले पुस्तकमा १६ पृष्ठ आफ्नो बारेमा लेखे पनि बाँकी भागमा अरूका लागि लेखिएको बताउनुभयो ।

प्रकाशक चक डस्टरका प्रमुख हरि भट्टराईले सन् १९०२ मा अध्ययनका लागि जापान पुगेका नेपाली विद्यार्थीहरूले सन् १९०५ मा गोदावरी फूल नेपाल ल्याएको इतिहास स्मरण गर्दै पछिल्लो समय जापान शिक्षा र रोजगारीका लागि नेपाली युवाको गन्तव्य बनेको बताउनुभयो । उहाँले जापान जान चाहनेका लागि पुस्तक निकै उपयोगी सावित हुने दाबी गर्नुभयो ।

उक्त पुस्तक जापान पुगेका, जापान जान लागेका, जापान जाने सपना देखेका र जापानबारे जान्न चाहने सबैका लागि उपयोगी हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button