जनतामा विद्यमान निराशा चिर्न जरुरी छ: कांग्रेस महामन्त्री थापा

भक्तपुर । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशमा अब केही हुन्न भन्ने जनतामा विद्यमान निराशा चिर्न जरुरी रहेको बताउनुभएको छ ।
महामन्त्री थापाले आज नेपाली काँग्रेसका पूर्व नेता तथा शिक्षासेवी स्व। श्यामबहादुर कार्कीको १७औँ स्मृति दिवसका अवसरमा बालकोटमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नेपालमा राम्रो कुरा केही भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो ।
देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिए पनि केही विकास भइरहेको बताउनुहुँदै उहाँले देश विकासका लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘समाजमा गौरव गर्ने कुरा केही छैन, हामी भत्किई सक्यौँ,बिग्री सक्यौ भन्ने होइन ,हो हामीले असन्तोष मान्नुपर्ने धेरै कुरा छन् ,हामीले यो भन्दा राम्रो बनाउन सक्थ्यौ, हामी चुकेकै हो ,यो भन्दा धेरै राम्रो गर्न सक्थ्यौ तर यो भनिरहँदा खेरी केही पनि भएन भन्ने होइन ।’
मानिस अवसरको खोजीमा विदेश जानु र विदेश गएर केही सिकेर आउँछु भन्नु सामान्य भए पनि समाजमा राम्रो केही पनि छैन भन्ने निष्कर्ष निकाले जानु सुखद नभएको बताउनुभयो ।
समाजमा खराब मात्र कुरा छैनन् राम्रो पनि छ भन्ने देखाउन समाजमा भएका राम्रा मान्छे र असल अभ्यास लाई उजार गर्नु जरुरी रहेको उहाँको भनाई थियो ।
नराम्रोकाबीच राम्रो पनि भइरहेको छ भन्ने मनोविज्ञान निर्माणका लागि देशैभरका प्रजातन्त्र सेनानीहरूको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र रु दश करोडको अक्षय कोष खडा गरेर प्रजातन्त्र सेनानीका सन्ततिको शिक्षा र स्वास्थ्यबाट वञ्चित नहुन् भनेर खर्च गरिने तैयारी भइरहेको बताउनुभयो ।
पार्टीको केन्द्रीय समितिको जारी बैठकमा महासमिति बैठकको प्रस्तावमा छलफल चलिरहेको बताउँदै उहाँले केन्द्रीय समितिले पारित गरेका निर्णय देशभर लैजाने बताउनुभयो ।
महामन्त्री थापाले स्व।कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा संघीय सांसद दुर्लभ थापा, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले,कांग्रेस नेता रामप्रसाद दवाडी,प्रदीप कार्की लगायतले श्यामबहादुर कार्कीले पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा गणेश आधारभूत विद्यालय बालकोका १०८ जना बालबालिकालाई झोला एवं स्टेशनरी सामान वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्