तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावकारी बन्दै भूमिगत सिँचाइ प्रणाली

जनकपुरधाम ।  कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ । 

नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको तथा आकाशे पानीमाथि निर्भर रहेका किसानका लागि यो प्रविधि वरदान साबित भएको महोत्तरी गौशालाका स्थानीय किसान रामलाल महतोले बताउनुभयो । उहाँले यसबाट खेतीका लागि मात्रै नभइ खानपिनका साथै दैनिक जीवनमा समेत प्रयोग भइरहेको उल्लेख गर्नुभयो ।

मधेस प्रदेश सरकारको जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर, महोत्तरीद्वारा धनुषा तथा महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिप ट्युबवेल तथा पावर ड्रिलबाट सिँचाइ सुविधा पुर्‍याइएको हो ।

एउटा डिप ट्युबवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । महोत्तरी तथा धनुषामा हालसम्म ३५ वटा डिप ट्युबवेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको छ । एउटा डिप ट्युबवेलको संरचना निमार्णदेखि  सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ । 

गत आर्थिक वर्षमा थप पाँचवटा डिप ट्युबवेलको निर्माण प्रक्रिया सुरु भएको छ । एउटा निर्माणमा रु ३० लाखसम्म खर्च भएको तथा चालु आर्थिक वर्षमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ । अहिले पाँच वटाको निर्माणमा रु  एक करोड ५० लाख खर्च भइसकेको छ ।

त्यसैगरी, महोत्तरी तथा धनुषामा हालसम्म ५० वटा पावर ड्रिल निर्माण भई सञ्चालनमा रहेको सो कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अमलेश यादवले जानकारी दिनुभयो  । 

एउटा पावर ड्रिलबाट नौ बिघा जमिन सिञ्चित हुने गरेको छ । एउटा पावर ड्रिल निर्माणदेखि सञ्चालनसम्ममा रु १६ लाख लाग्ने गरेको छ । अहिलेसम्म ५० वटा पावर ड्रिल निमार्णमा रु एक करोड २९ लाख ६० हजार खर्च भएको कार्यालयले जनाएको छ । 

दुवै जिल्लामा डिपट्युवेल तथा पावर ड्रिलबाट  १८ सय ५० बिघा जमिनमा सिँचाइ भइरहेको कार्यालयप्रमुख नयन पोखरेलले बताउनुभयो । डिप ट्युबवेल निर्माणमा उपभोक्ता समितिमार्फत हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button