कोशी प्रदेशमा एमाले र कांग्रेसको संयुक्त सरकार चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समीकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार चाडै निर्माण हुन लागेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले कोशी प्रदेश सरकारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेपाली काँग्रेसले चार मन्त्रालय पाउने विषयमा सहमति भएको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारमा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने प्रष्ट पार्नु भयो’ । मन्त्रालयका सङ्ख्या बढाएर प्रदेश सरकारलाई आर्थिक बोझ दिने पक्षमा दुवै पार्टी नभएकाले मन्त्रालयको सङ्ख्या नथपिने उहाँको भनाई थियो ।
नेपाली काँग्रेसले मन्त्री बन्नेको नाम दिएको आधारमा दुई/चार दिन भित्र मन्त्रिमण्डल विस्तार हुने उहाँले जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकोले यसमा पुनरावलोकन नहुने स्पष्ट पार्दै आवधिक समयमा बिग्रेका बजेटलाई कानुन बमोजिम सच्याउन सकिने बताउनुभयो ।
उहाँले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्की सम्बन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील भएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्