तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : सांसदहरूको प्रश्नमा मन्त्रीहरूको जवाफ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको कर त्यसबाट लाग्ने रोगको उपचार गर्न र जनचेतना फैलाउनका लागि खर्च गर्ने प्रस्ताव मन्त्रालयले अगाडी सारेको बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालले राख्नुभएको प्रश्नको जवाफमा मन्त्री पौडेलले नयाँ पुस्तामा बढेको सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न विद्यालय र विश्वविद्यालय स्तरको पाठ्यक्रममा यो विषय समावेश गर्ने र जनचेतना विस्तार गर्न स्वास्थ्य मन्त्रालयले विशेष अभियान सञ्चालन गरेर सुर्तीजन्य पदार्थ सेवन गर्नबाट नयाँ पुस्तालाई मुक्त गर्न सकिने बताउनुभयो ।

यस्तै मन्त्री पौडेलले संघीय अस्पतालमा स्वास्थ्य बिमाको रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै तत्काल बाँकी रहेको रकम भुक्तानी गर्न आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य बिमाको विषय नीति, नियम र कानुनसँग जोडिएको विषय भएकाले यसको  दायरा फराकिलो बनाउने, सङ्गठित क्षेत्र सबैलाई बिमासँग आबद्ध गर्ने, स्रोत सुनिश्चित गर्न सरकारले अरू थप क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रबद्र्धनका लागि किसानहरूलाई संघ, प्रदेश र स्थानीय तहमार्फत सहुलियत सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

सांसद प्रेम सुवालले राख्नुभएको प्रश्नको जवाफमा मन्त्री अधिकारीले रासायनिक मलको मूल्यमा, सिँचाइका लागि विद्युतको महसुलमा, कृषि तथा पशुपन्छी बिमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रीकरण गर्न कृषि औजार लगायतका क्षेत्रमा किसानलाई सरकारले अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट गरिने काममा कुनै प्रकारको कमजोरी हुन नदिने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button