२ लाख ७१ हजार बढी गरिब परिवारको अन्तिम सूची स्वीकृत

काठमाडौँ । सरकारले १५ जिल्लाका २ लाख ७१ हजार बढी गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ ।
साउन १० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ बमोजिम ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा धनुषा, नुवाकोट, बारा, पर्सा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सर्लाही, सप्तरी, सिन्धुपाल्चोक जिल्लाका गरिब परिवारको पहिचान गरी सूचीकृत गरेको हो ।
प्रवक्ता गुरुङले सरकारले विश्व बैङ्कबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड रुपैयाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति गठन दोस्रो संशोधन आदेश २०८१ स्वीकृत गर्ने लगायतका निर्णय गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्