सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले यही साउन ९ गते भएको विमान दुर्घटना, देशभर बढीपहिरोबाट भइरहेको मानवीय तथा भौतिक क्षति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले यही साउन ९ गते सौर्य एयरको विमान दुर्घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाको सत्यतथ्य खोजी गर्न तथा निष्पक्ष छानविन गर्न माग गर्नुभयो ।
सांसदहरुले पछिल्लो दुई वर्षमा ७ वटा हवाई दुर्घटना भएको भन्दै यसको न्युनिकरणका लागि दुर्घटनाका कारण खोजी गर्नुपर्ने, नियामक निकाय र सेवा प्रदान गर्ने निकाय छुट्ट्याउनुपर्ने बताउनुभयो ।
सांसदहरुले हवाई क्षेत्रको नियमन तथा अनुगमन गर्नु पर्ने र दीर्घकालीन रुपमा समस्या समाधान गर्न प्रभावकारी नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।
सांसदहरुले जहाज दुर्घटना हुनबाट जोगाउने तथा सुरक्षित बनाउने युरोपियन युनियनले कालोसूचीमा राखेको र यसलाई खुलाउने विषयमा भइरहेको प्रयासका विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरु राजेन्द्र बजगाई, सुनिता बराल, पूर्णबहादुर घर्तीमगर, हरि ढकाल, राजेन्द्र लिङ्गदेन, सञ्जयकुमार गौतम, महिन्द्र राय यादव, सर्वेन्द्रनाथ शुक्ल, पूर्णबहादुर तामाङ, गणेश पराजुली, लगायतले हवाई दुर्घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसैगरी बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै, उद्धार, घाइतेको उपचार र क्षतिपूर्तिको समयमा नै व्यवस्था गर्न माग गर्नुभयो ।
गोरखमामा पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी र घाइतेहरूको उपचारका लागि मौसमको कारण देखाएर सरकारी हेलिकप्टरबाट उद्धार हुन नसकेको ठाउँमा नीजि क्षेत्रको हेलिकप्टरबाट उद्धार भएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले रुकुम पूर्व सिस्ने गाउँपालिकामा गएको पहिरोले विद्युतको पोल, तार र बाटो बगाउँदा जिल्ला नै अस्तव्यस्त बनेको, सडक अवरुद्ध भएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्याको समाधान गर्न माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्