तपाईँ सुन्दै हुनुहुन्छः

डा.तरुण पौडेल चिकित्सा कोषबाट विभिन्न क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान 

बागलुङ । बागलुङमा स्थापित डा.तरुण पौडेल चिकित्सा कोष तथा इन्द्रलक्ष्मी स्मृति पुरस्कारबाट डाक्टर, नर्स र सामाजिक अगुवा  पुरस्कृत हुनुभएको छ ।

डा.पौडेलको नाम स्थापित चिकित्सा कोष र डा.पौडेलले मातापिताको सम्झनामा स्थापना गर्नुभएको स्मृति पुरस्कारबाट स्वास्थ्य क्षेत्र, सामाजिक क्षेत्र र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको हो ।

बागलुङमा आयोजित नवौँ पुरस्कार तथा स्मृति पुरस्कार समर्पण कार्यक्रमबाट स्वास्थ्य क्षेत्रतर्फ धौलागिरि अस्पतालमा कार्यरत डा.अमित ढुङ्गाना, म्याग्दीको राखुमा कार्यरत सिनियर अहेव अधिकृत शिवप्रसाद पाण्डे, पर्वतको बनौमा कार्यरत अनमी फुलकुमारी फागामीलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरि धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानबाट सामान्य चिकित्सा प्रमाणपत्र तह तर्फ उत्कृष्ट अङ्क ल्याउने कृष्णा पुन र ल्याब टेक्निसीयन सुदिप भुषाललाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।

त्यस्तै, सामाजिक क्षेत्रतर्फ अमोर नेपाल स्याङ्जाका अध्यक्ष कमला पराजुली र स्मृति पुरस्कारतर्फ शिक्षाविद् चूडामणि शर्मा पौडेललाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।

धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा.रामप्रसाद उपाध्याय, प्रतिनिधिसभाका पूर्व सांसद तथा कोषका सदस्य मनकुमारी जिसी केसी, पुरस्कृत व्यक्तित्वहरू डा.अमित ढुङ्गाना, शिवप्रसाद पाण्डे, फुलकुमारी फागामी, कमला पराजुली  र चूडामणि शर्मा पौडेलले मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा कोषका सदस्य वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा न्युरेले पुरस्कृतहरूको बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button