नेपालगन्ज नाकाबाट करिब ३० करोडको प्लाइउड भारत निर्यात

बाँके । कुनै समय नेपालमा भारतबाट ठूलो मात्रामा प्लाइउड आयात हुन्थ्यो । तर अब नेपालका लागि प्लाइउड निर्यातको प्रमुख गन्तव्य बनेको छ भारत ।
एक दशकयता नेपाली व्यवसायीले स्वदेशमै उद्योग स्थापना गर्न थालेपछि आयात रोकिएर भारततर्फ प्लाइउड निर्यात हुन थालेको हो ।
पछिल्ला वर्षमा नेपालमा प्लाइउड उत्पादन र निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरभन्दा बढीले भारतमा प्लाइउड निकासी भएको छ ।
नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढ्दै गएपछि निर्यात पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालगन्ज नाकाबाट २९ करोड ९३ लाखभन्दा बढीको प्लाइउड भारत निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपियाँको मात्र प्लाइउड निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १६ करोड रुपियाँ बढीको प्लाइउड भारत निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले बताउनुभयो ।
उहाँले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालगन्ज नाकाबाट १४ करोड १२ लाख ५४ हजार रुपियाँको प्लाइउड निकासी भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा दोब्बरभन्दा बढी २९ करोड ९३ लाख ६१ हजार रुपियाँको निर्यात भएको बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १५ करोड ८१ लाख ७ हजार रुपियाँ बढीको प्लाइउड निर्यात भएको छ । निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएपछि नेपालगन्जका प्लाइउड व्यवसायी उत्साहित छन् । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्त रहेको उद्योगी व्यवसायीले बताएका छन् ।
भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको बाँकेमा प्लाइउड उत्पादन गर्दै आउनुभएका व्यवसायी पशुपति दयाल मिश्रले बताउनुभयो ।
उहाँले नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतको लखनउ, कानपुर, दिल्ली, आगरा, देहरादुन लगायतका बजारसम्म हुनेगरेको बताउनुभयो । नेपालगन्जका अर्का प्लाइउड उद्योगी चम्पालाल बोथराले भारतमा नेपाली प्लाइउडको माग बढ्दै गएपछि आफूहरू निकै उत्साहित भएको उहाँको भनाइ छ ।
नेपालको प्लाइउड निर्यातको अर्को प्रमुख कारण भारतीय वन नीति पनि हो । भारतको वन मन्त्रालयले गत वर्ष आगामी ५ वर्षसम्म वन कटान नगर्ने र जङ्गल संरक्षण गर्ने नीति लिएको थियो । जसको प्रभावले नेपालबाट भारतमा प्लाइउड निर्यात बढेको देखिन्छ ।







प्रतिक्रिया राख्नुहोस्