तपाईँ सुन्दै हुनुहुन्छः

देवघाटमा प्लास्टिकजन्य वस्तु व्यवस्थापनकाे चुनौती

चितवन । भक्तजनले ल्याउने प्लास्टिकजन्य सामाग्रीको व्यवस्थापन देवघाट क्षेत्रको चुनौतीको रुपमा देखा परेको छ ।

देशका विभिन्न स्थानबाट पूजा अर्चनाका लागि पवित्र तीर्थस्थल देवघाट आउने भक्तजनले ल्याउने प्लाष्टिक जन्य सामाग्रीको व्यवस्थापनमा कठिनाइ भएको हो । मेला महोत्सवका बेला यहाँ अत्यधिक फोहर हुने गरेको छ ।

अहिले साउन महिनाको सोमबार बोलबम मेलाका लागि टाढा टाढाबाट समेत भक्तजन आउने गरेका छन् । उनीहरूले पूजा अर्चनाका लागि ल्याउने अगरबत्ती, अबिर केशरीका प्लाष्टिक, खानेपानीका बोत्तल, पूजा सामग्री राखेर ल्याइका प्लाष्टिकको झोला र सुर्तीजन्य प्लास्टिकका खोल समेत जथाभाबी फाल्ने गर्दा फोहर बढेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

यस्ता फोहर सङ्कलनका लागि निश्चित स्थान तोकिए पनि तोकिएको स्थानमा नफाल्ने भक्तजनको लापरवाहीले प्रदूषण बढेको देखिन्छ । शव दाहसंस्कारका लागि आउने मलामीले फाल्ने प्लास्टिकका बोत्तल, ब्लेड, कपडा समेतले नदी क्षेत्र प्रदूषित बनेको छ ।

मङ्गलवार मात्रै चितवन, तनहुँ र नवलपुरको संगमस्थल देवघाट क्षेत्रबाट ५ क्विन्टल प्लास्टिकजन्य फोहर सङ्कलन गरिएको छ । देवघाट क्षेत्र विकास समितिको आयोजनामा देवघाट क्षेत्र सरसफाई कार्यक्रममा उक्त फोहर सङ्कलन गरिएको हो । उक्त सरसफाई कार्यक्रममा देवघाट संरक्षण प्रतिष्ठान, रामजानकी बालिका आश्रम, ईश्वर बाल सेवा आश्रम, गार्गी कन्या गुरुकुल, नेपाल प्रहरी, भरतपुर महानगर प्रहरी, भूपू सैनिक, देहेन थर्वालिङ बौद्ध गुम्बा, नेपाल मगर बौद्ध सेवा समितिका प्रतिनिधि एवं स्थानीय गरी डेढ सय बढी सहभागी थिए ।

देवघाट क्षेत्रमा हुने फोहर कम गर्न देवघाट आउने भक्तजनको अनुमान गरी उनीहरूले ल्याउने फोहरको आंकलन गरी त्यस्ता फोहर व्यवस्थापन गर्नुपर्ने डब्लु डब्लु एफ नेपालको सहयोगमा संरक्षणमुखी कार्य गर्दै आएको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले जानकारी बताउनुभयो । उहाँले सङ्कलन गरिएको फोहर बाँदरले समेत लथालिङ्ग पार्ने भएकोले बाँदरले समेत फोहर गर्न नमिल्ने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

सहमतिले देवघाट क्षेत्र विकास समिति, यहाँका स्थानीय, विभिन्न संघ संस्थाका प्रतिनिधिलाई समेत अभिमुखीकरण गरेको छ । घरायसी फोहरमैला पृथकीकरणसम्बन्धी अभिमुखीकरण गर्नुका साथै फोहर सङ्कलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ ।

सहमतिले ५ वटा प्लाष्टिक बोटल मात्रै राख्ने ‘मेटलबिन’, त्यस्तै प्लास्टिकजन्य कागज राख्ने ‘मेटलबिन’, ब्लेड बक्स देवघाट क्षेत्र विकास समितिलाई प्रदान गरेको थियो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुण्य कार्यमा सरिक हुँदै गर्दा फोहर गर्न नहुनेमा जोड दिनुभयो । देवघाट क्षेत्र विकास समितिको एकल प्रयासले फोहोर व्यवस्थापन चुनौती बनेको बताउँदै उहाँले सरसफाइका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

हरेक सोमबारको बोलबम मेलापछि मङ्गलवार सरसफाई अभियान नै सञ्चालन गर्ने गरी कार्यक्रम तय गरेका छन् । यसमा सहभागिताका लागि देवघाट क्षेत्र विकास समितिले सम्पूर्णमा आह्वान समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button