तपाईँ सुन्दै हुनुहुन्छः

टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्रीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीले कार्यदलस्तरमा भएका छलफलबारे ब्रिफिङ लिँदै चाँडो टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभयो । 

नेकपा एमालेका तर्फबाट कार्यदल सदस्य महेश बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहभागी छलफलमा प्रधानमन्त्रीले कार्यदललाई विधेयकमा जतिसक्दो चाँडो सहमति जुटाउन भन्नुभएको जानकारी दिनुभयो । 

कार्यदल सदस्य बर्तौलाले विधेयकमा सहमति जुटाउन कार्यदलले आजैदेखि काम अघि बढाएको भन्दै चाडै सहमति जुटाउने बताउनुभयो ।  

गत असार १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा टीआरसी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय सहजीकरण कार्यदल गठन भएको थियो । 

कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, एमालेका तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका नेता जनार्दन शर्मा सदस्य रहनु भएको छ । 

कार्यदललाई विधेयकमा छलफल गरेर टुङ्ग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिएको थियो । 

यसअघि प्रमुख दलहरूले टीआरसी विधेयकमा सहमति जुटाउन टुङ्ग्याउन पटक पटक प्रयत्न गरेपनि विशेष गरी चार वटा बुँदामा सहमति जुट्न सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button