तपाईँ सुन्दै हुनुहुन्छः

आमसञ्चार माध्यममा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने: शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आमसञ्चार माध्यममा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

मिडिया एड्भोकेसी ग्रुप म्याग र हाई कमिसन अफ क्यानडा  (high commission of Canada) ले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री भट्टराईले मिडियामा महिला पत्रकारको उपस्थिति न्यून रहेको विभिन्न   तथ्याङ्कले  देखाएको भन्दै ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकारिता देखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि काम गर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिला ल्याउन र टिकाइराख्न कठिन भएपनि प्रेस काउन्सिलको तथ्याङ्क हेर्दा स्रोतले महिला पत्रकारलाई बढी विश्वास गर्ने गरेको देखिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले मिडिया हाउसमा सबैभन्दा बढी स्थान ओगट्ने राजनीतिक विटमा रिपोर्टिङ गर्ने महिला पत्रकारको उपस्थिति बढाउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले महिला पत्रकारको क्षमता अभिवृद्धि र उनीहरुलाई प्रविधिसँग जोडेर अगाडी बढाउनुपर्ने बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले साधन स्रोतदेखि समग्र रुपमा महिला पत्रकारहरूलाई राजनीतिक क्षेत्रमा रिपोर्टिङ गर्न चुनौती रहेको भएपनि महिला पत्रकारहरूले राजनीतिक लगायतका महत्त्वपूर्ण विटमा प्रभावकारी रुपमा कलम चलाउँदै आइरहेको बताउनुभयो ।

नेपालका लागि क्यानडाका राजदूत क्यामेरोन डिन म्याके (cmeron machay) ले नेपालमा सामाजिक न्यायको स्थापनाका लागि हरेक क्षेत्रको रिपोर्टिङमा महिला पत्रकारको उपस्थिति आवश्यक रहेको बताउँदै राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गरिएको अवस्थामा मिडिया हाउसमा पनि ३३ प्रतिशत महिला पत्रकारको उपस्थिति सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विटमा रिपोर्टिङ गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने तालिम आयोजना गरिएको बताउनुभयो ।

राजनीतिक विटमा रिपोर्टिङ गर्ने पत्रकारको सशक्तिकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम आज र भोलि गरी दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button