तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातावरण बनाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय युवा परिषद्सँगको ब्रिफिङमा मन्त्री चौधरीले यस्तो बताउनुभएको ।

मन्त्री चौधरीले भने, “नेपाली युवाहरूलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातावरण बनाउनुपर्दछ। नेपाली युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातावरण बनाउनु नै मुख्य चुनौती हो। यसबारे सबै सरोकारवालाले गम्भीर भएर लाग्नुपर्दछ ।”

मन्त्री चौधरीले युवा शक्तिलाई परिचालन गर्न सकेमात्र मुलुकले समृद्धिको पाइला चाल्न सकिने भन्नुहुँदै युवा जनशक्तिको बढ्दो पलायनमा चिन्ता व्यक्त गर्नुभयो । “ नेपाली युवाहरू दिनदिनै त्रिभुवन विमानस्थलबाट विदेश उडिरहेका छन्”, मन्त्री चौधरीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “युवा पलायन किन भइरहेका छन्, यसबारेमा सोच्न बेला आएको छ।”

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूको अपेक्षाका तुलनामा बजेट अपर्याप्त रहेको बताउनुभयो। उहाँले कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत जनसङ्ख्या युवाको रहेकाले युवाको सवाल र समस्यालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो

कार्यकारी उपाध्यक्ष बस्नेतले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि कार्यविधि संशोधन गरेर युवा उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको समेत मन्त्री चौधरीलाई जानकारी गराउनुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालय र परिषद्बिच समन्वय गरी युवाका पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा युवा परिषद्का प्रशासकीय प्रमुख दिनेश घिमिरे परिषद्को तर्फबाट भएका कामसहित नयाँ आर्थिक वर्षमा गरिने कार्यक्रम र योजनाको विस्तृत प्रतिवेदन पेश गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button