देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देखिएका समस्याहरूको समाधान खोजी देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
६२ औँ इञ्जिनियर दिवसका अवसरमा आज काठमाडाैँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको अहिलेको अवस्थाबारे सरकार जानकार रहेको र त्यसको समाधान खोज्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको विगत प्रशंसायोग्य रहेपनि अहिलेको अवस्था भने सन्तोषजनक नरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुहुँदै वर्तमान सरकार समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरू खोज्दै अगाडि बढ्छ भन्नेमा विश्वस्त हुन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिलेर सरकार बनाएको बताउनुहुँदै अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले युवाका लाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभयो ।

मन्त्री खड्काले इन्जिनियरहरू कुनै पनि आयोजनामा छोटो समय मात्रै काम गरी अर्कोमा जाने गर्नाले आयोजनाहरू अलपत्र पर्ने गरेको भन्दै इन्जिनियरहरुलाई आवश्यकता अनुसार द्विपक्षीय वा बहुपक्षीय सम्झौता गरेर काम गर्न र कामलाई स्थायित्व दिन समेत सुझाव दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्