तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमित वन क्षेत्रमा लाहा र बहुमूल्य अगरउड रोपण

भद्रपुर (झापा) । झापामा अतिक्रमित वन क्षेत्रमा बहुमूल्य प्रजातिको अगरउड र लाहाको बिरुवा रोपण गरिएको छ । 

जिल्लामा वन अतिक्रमणमा परेको जग्गामा लाहा खेतीका लागि कुसुम रोपण र अतिक्रमणको जोखिममा परेको जग्गामा बहुमूल्य प्रजातिको अगरउडको बिरुवा रोपिएको जिल्ला वन डिभिजन कार्यालय झापाले जनाएको छ ।कार्यालयले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा तथा जिल्ला वन क्षेत्र समन्वय समितिको विस्तारित बैठकमा कार्यालय प्रमुख मेघराज राईले सो कुराको जानकारी दिनुभएको हो ।

जिल्ला समन्वय समिति प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका प्रमुख राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । युवा उद्यमीलाई प्रोत्साहन स्वरूप वनजन्य उद्यम स्थापनाका लागि एउटा जैविक मल उद्योग स्थापना, याङ्चोक हर्बल उद्योगलाई अगरउड प्रशोधन उद्योग स्थापना, मेचीनगरको मागुरमाडी सामुदायिक वनमा टपरी उद्योग स्थापनाका लागि अनुदान दिएको उहाँले बताउनुभयो । 

कृषि र वनलाई उत्पादनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । त्यस्तै, कार्यालय प्रमुख राईले हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माण गरेर छोड्दा समस्या भएको बताउनुभयो । मर्मतका लागि बजेट अभाव रहेको बताउँदै उहाँले सोको संरक्षणका लागि स्थानीय तह, समुदाय र डिभिजन वन कार्यालयले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button