मधेश प्रदेश सरकारको साँढे उन्नाइस अर्ब बजेट फ्रिज
जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये १९ अर्ब ५२ करोड ६६ हजार ३ सय ६८ रुपैयाँ फ्रिज भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि ठूलो मात्रामा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ को बजेट विनियोजन गरेका थिए । साउन १ देखि असार २४ गते मध्य रातिसम्म चालुतर्फ २४ अर्ब ५९ करोड ४५ लाख ६५ हजार ६३२ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो खर्च कुल बजेटको ५५.७५ प्रतिशत हो ।

चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार बजेट विनियोजन भएकोमा ९ अर्ब २९ करोड ७० लाख २ हजार १३७ रुपैयाँ मात्र खर्च भएको छ । यो खर्च चालुतर्फको कुल बजेटको ५०.१४९ प्रतिशत हो । पुँजीगततर्फ करिब ६० प्रतिशत खर्च भएको छ ।
पुँजीगततर्फ २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार बजेट रहेकोमा १५ अर्ब २९ करोड ७५ लाख ६३ हजार ४९४ रुपैयाँ १६ पैसा मात्र खर्च भएको छ । यो खर्च ५९.८१३ प्रतिशत रहेको प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख डा. विरेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
यसअघि आर्थिक वर्ष २०७९/०८० मा ४७ अर्ब २ करोड ५० लाख ५२ हजार ११७ रुपैयाँ कूल बजेट रहेकोमा २७ अर्ब ३३ लाख १२ हजार ८८८ रुपैयाँ ५२ पैसा मात्र खर्च भएको थियो । अर्थात् ४२.५८ प्रतिशत रकम फ्रिज भएको थियो ।
मधेश प्रदेश सरकारको ठूलो प्रतिशत बजेट फ्रिज हुनुमा पटक पटक सरकारको मन्त्रीहरूको फेर बदल तथा कर्मचारीको सरुवा नै प्रमुख कारणको रुपमा रहेको तत्कालीन सरकारका मन्त्रीहरूको दाबी रहेको छ ।
त्यस अघि आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो । त्यस आ.व.मा ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार बजेट मध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७४९ रुपैयाँ बजेट मात्र खर्च भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्