खानेपानीको समस्या समाधानका लागि गम्भीर बन्न सांसदहरूको आग्रह
काठमाडौँ । सांसदहरूले काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधानका लागि गम्भीर बन्न र प्रभावकारी योजना ल्याउन सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले मेलम्ची खानेपानीमा बाढीका कारण देखिएका समस्या समाधानका लागि प्रभावकारी योजना आउनु पर्नेमा सांसदहरूले जोड दिनुभयो ।
सांसदहरुले काठमाडौँ उपत्यकाका आसपासका खानेपानीका स्रोतहरूको प्रयोग र त्यसमा देखिएको समस्या समाधानका लागि सम्बन्धित मन्त्रीसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।
छलफलमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानीको मुहान रहेको शिवपुरी र नागार्जुन राष्ट्रिय निकुञ्जबाट थप पानी ल्याउनका लागि उनीहरूको ऐन र नियममा सुधार हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले मेलम्चीको खानेपानी नियमित रुपमा १७ करोड लिटर आपूर्तिका लागि बाढीले क्षति पुर्याएको हेडवक्स सार्नुपर्ने भएकाले त्यसका लागि अध्ययन भइरहेको जानकारी गराउनुभयो ।
वन मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र निकुञ्जबिच भएको सहमति बमोजिम रकम निकुञ्जलाई नतिरेका कारण समस्या देखिएको र समस्या समाधानका लागि छलफल अगाडी बढाएको बताउनुभयो ।
काठमाडौँ उपत्यकाका लागि दैनिक ४७ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी आयोजना सहज रुपमा सञ्चालन हुँदा दैनिक १७ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ ।
२०७८ साल असार र साउनमा आएको बाढीले मेलम्ची आयोजनाको हेडवक्समा क्षति पुर्याएका कारण वर्षायाम शुरु भएसँगै मेलम्चीको पानी आपूर्ति बन्द गरिँदै आएको छ ।
मेलम्चीको पानी आउँदा समेत सुख्खा मौसममा उपत्यकामा २० करोड लिटरको हाराहारीमा मात्रै खानेपानी आपूर्ति गर्न सक्ने अवस्था रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
छलफलमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी अधिकृत अशोक कुमार पौडेल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्