चार जिल्लाका किसानलाई निःशुल्क रुपमा ६७ हजार डालेघाँसका बिरुवा वितरण गर्ने

पर्वत । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले चार जिल्लाका किसानलाई निःशुल्क रुपमा डालेघाँसका बिरुवा वितरण गर्ने भएको छ ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत ६० हजार बिरुवा वितरण गर्ने लक्ष्य राखेको थियो । लक्ष्य भन्दा ७ हजार बढी गरी कुल ६७ हजार बिरुवा वितरण गर्न लागेको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।
ग्रामीण भागमा सडक निर्माण गर्ने कार्यले तीव्रता पाउँदा बढेको भूक्षय कम गर्ने र गाई, भैँसी तथा बाख्रापालनमा सहयोग पु¥याउने उद्देश्यले डालेघाँसको बिरुवा वितरण गर्न लागेको उहाँको भनाई छ ।
पौडेलका अनुसार विभिन्न समूह, पशुपालक कृषक, सहकारी वा अन्य संघ संस्थाहरूले माग सङ्ख्याको आधारमा बिरुवाहरू लैजान सक्नेछन् ।
पर्वत लगायत म्याग्दी ,वाग्लुङमा बाझो जमिनमा डालेघासँका रुपमा राईखन्यु ,निमारो बढी मात्रामा लगाउने प्रचलन अनुसार माग बढी आउने उनले बताए । कार्यालय परिसरको नर्सरीबाट पर्वत र बागलुङ जिल्लाका किसानले बिरुवा लाने गरेका छन् । कार्यालयका अनुसार म्याग्दीमा १५ हजार, बागलुङमा १५ हजार, स्याङ्जामा १५ हजार, पर्वतमा २२ हजार बिरुवा वितरण गरिने भएको छ ।
गत वर्ष पनि यही सिजनमा ७० हजार डाले घाँसका बिरुवा वितरण गरेको कार्यालयले जनाएको छ । डाले घाँसका बिरुवा वितरण गर्दा पशुका लागि आहार हुने साथै डाले घाँसका बिरुवा लगाउँदा भू–क्षय न्यूनीकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने हुँदा कार्यालयले हरेका वर्ष डालेघाँसका बिरुवा वितरण गर्दै आएको हो ।







प्रतिक्रिया राख्नुहोस्