‘बजेटका कारण सत्ता साझेदार दलबीच समस्या हुँदैन’
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताउनुभएको छ ।

प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताउनुभयो । बजेट सन्तुलित रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ ।”
बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट गर्नुभयो ।
“सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृह मन्त्रालय लगायतको समन्वय बैठकबाट रेडियो नेपाल, निजी सामुदायिक रेडियो, नेपाल टेलिकमबाट एसएमएसका माध्यमबाट बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा पूर्वसूचना दिने भनेर एक सम्झौता गरिएको छ, सरकार विपद् व्यवस्थापनका निम्ति तम्तयार छ एवं संवेदनशील छ,” मनसुन प्रारम्भ भएसँगै दैवी विपत्तिको जोखिम बढ्ने सन्दर्भमा विपद् व्यवस्थापनमा सरकारको तयारी बारेको जिज्ञासामा उहाँले भन्नुभयो ।
सूचना प्रविधि दशक मनाउने सरकारको योजनाले निजी क्षेत्र उत्साहित बनेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरी व्यवस्थित गर्न सकिएमा देशमा अर्बौँ भित्र्याउन सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “१६औँ योजना र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट वक्तव्यमा पनि सूचना प्रविधिको विषय समेटिएको छ, यसको विकास गरी नेपाललाई ‘आइटी हब’ मा रूपान्तरण गर्ने गरी काम गरिरहेका छौँ ।” मन्त्री शर्माले आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्