तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटनबाटै आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

पोखराको नोबेल एकेडेमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको ‘धार्मिक पर्यटनःवर्तमान समयमा चुनौती र अवसरहरू’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुख भट्टले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यसबाटै देशको समृद्धि हुने दाबी गर्नुभयो ।

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै पर्यटनसम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरू लाभान्वित हुने, यहाँका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नुका साथै शैक्षिक व्यक्तित्वहरू बीचको जमघटले यहाँका विश्वविद्यालयको शैक्षिक क्षेत्रको स्तर वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाई थियो ।

प्रदेश प्रमुख भट्टले पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्राउन ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । बुद्धको विचार, मार्गदर्शन एवम् बुद्ध जन्मभूमिलाई विश्व शान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै उहाँले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको बर्थिङ सेन्टरका रूपमा विकास गर्ने र त्यस मार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्न सकिने बताउनुभयो ।

सम्मेलनमा छिमेकी राष्ट्र भारत, बङ्गलादेश, भुटान स्थित विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थीहरू लगायतको सहभागिता रहेको नोबेल एकेडेमीका सञ्चालक विश्वेश्वर आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button