तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका चार पालिका पूर्ण खोप सुनिश्चितता घोषित

बाँके । बाँकेका ८ वटा पालिकामध्ये ४ वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन् । आज एक कार्यक्रमबिच कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मङ्गलवार औपचारिक रुपमा कोहलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । कोहलपुर नगरपालिकाद्वारा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनुभएका चौधरीले सबै बालबालिकाहरूलाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक प्रयासले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सम्भव भएको उल्लेख गर्नुभयो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले खोपको आवश्यकता र महत्वबारे अभिभावकहरूलाई नै बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नियमित खोपका कारण जीवनको आयु लम्बिने भएकाले त्यसको बारेमा आम अभिभावकहरूलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताउनुभयो । खोप नपाउने बच्चा अपाङ्गता हुन सक्ने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button