तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन सातै पालिकाबाट गरिँदै

चितवन । राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप अत्यधिक भएपछि विवरण सङ्कलन अव चितवनका सातै पालिकाबाटै हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा सेवाग्राहीको अत्यधिक भीड भएपछि पालिका स्तरबाटै सेवा दिन लागिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । आगामी असार २ गतेबाट सेवा दिन लागिएको हो ।

जिल्ला प्रशासन बाहेक भरतपुर महानगर र माडी नगरपालिकामा पनि परिचयपत्रको विवरण सङ्कलनको काम हुने गरेको छ । थप १० वटा स्टेशन माग गरिएको र पालिकामा पठाउने तयारी भएको उहाँले बताउनुभयो ।

सेवाग्राहीको चाप कम गर्न भन्दै जिल्ला प्रशासनले गत जेठ २८ गतेबाट आगामी असार मसान्तसम्म बिहान ७ बजेबाटै सेवा दिने जानकारी गराइसकेको छ । ७ बजेबाट बेलुकी ५ बजेसम्म काम भइरहेको सहायक प्रजिअ शर्माले बताउनुभयो ।

हाल दैनिक ४ सय जना राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन् । जसमध्ये २ सय जनाको मात्र काम हुने गरेको थियो । काम नभएपछि आधा सेवाग्राही लाइन बसेर फर्कनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button