तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

यसअघि, नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिनुभएको थियो । छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयनयोग्य हुनुपर्ने बताउनुभएको थियो । सरकारका काम कारबाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गर्नुभयो ।

छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताउनुभयो । नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसङ्ग नियतवस: नछुटाइएको उल्लेख गर्दै उहाँले चालु वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राख्नुभयो । पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै उहाँले लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारित समेत गरेको उल्लेख गर्नुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभै अन्तर्राष्ट्रिय विषय भएको बताउँदै उहाँले यहाँ अन्तरदेशीय उडानहरू हुनुपर्ने बताउनुभयो । यसका लागि प्रदेशले मात्र नभई सङ्घीय सरकारले चाहनुपर्ने बताउँदै उहाँले यहाँबाट जाने गन्तव्य रहेको त्यहाँको सरकारले पनि चाहनुपर्ने बताउनुभयो । यसबारे पहलहरू भइरहेको र आज बिहान मात्रै पनि पोखराबाट बङ्गलादेशमा सिधा हवाई उडानका विषयमा छलफल भइरहेको बताउनुभयो ।

समाजवादलाई हेर्ने दृष्टिकोणहरू फरक फरक रहेको बताउँदै उहाँले यो समय र स्थानअनुसार पनि फरक हुने उल्लेख गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button