तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा अज्ञात रोगले भेडा मर्न थालेपछि किसान चिन्तित

जुम्ला । अज्ञात रोगले भेडा मर्न थालेपछि जुम्लाका भेडा पालक किसान चिन्तामा छन् । पाटनमा राखिएका भेडा अज्ञात रोग रोगले धमाधम मर्न थालेपछि जुम्ला स्थित हिमा गाउँपालिकाका भेडा पालक किसानलाई चिन्ताले पिरोलेको हो।

जुम्लाका किसानको मुख्य आयस्रोतहरूमा भेडापालन पनि एक हो । स्याउ खेती,जडीबुटी सङ्कलन,कृषि,ओखर खेती जुम्ली किसानका मुख्य स्रोत हुन् । स्याउ ओखरमा कहिले रोग किराको प्रकोप र असिना पानीले क्षति गर्छ । भने, कहिले अज्ञात रोग त कहिले चट्याङ लागेर भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको छ ।

हिमा गाउँपालिकाको नदैपाटनमा राखिएका २३ वटा भेडा एकपछि अर्को गर्दै मरेपछि किसानहरू चिन्तित बनेका हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,‘किसान आत्तिएका छन् । लाखौँको क्षति भइसकेको छ । मुख्य आम्दानीको स्रोत,घर व्यवहार चलाउने आधार नै भेडापालन हो । रोग पत्ता लगाउन पहल भइरहेको छ ।’

अज्ञात रोगले हिमा गाउँपालिका १ का किसान वीर बहादुर शाहीका र १० वटा, कर्णबहादुर शाहीका ६ वटा, अकल शाहीका ४ वटा, जिर शाहीका ३ वटा गरी २३ वटा भेडा मरिसकेका छन् । जसबाट किसानले ठुलो क्षति व्यहोरेका छन् । अरू भेडा पनि अस्वस्थ भएकोले तत्काल उपचारको व्यवस्था गरिदिन समेत भेडा पालक किसान वीर बहादुर शाहिले अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभयो,‘धमाधम भेडा मर्न थाले । हामी आत्तिएका छौ । भेडा मर्नु भनेको हाम्रो चुलो नबल्नु हो । भेडामा पातलो दिसा गर्ने,ज्वरो आउने, काप्ने झोक्राउने समस्या देखिएको छ । चाडै रोग पत्ता लगाई उपचार नभए सबै भेडा मर्ने अवस्था छ ।’

यता हिमा गाउँपालिका पशु शाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भएको बताउनुभयो । उहाँका अनुसार कुन रोगा लागेको भन्ने थाहा भई नसकेकोले रोग पत्ता लगाएर उपचार थालिने छ ।

भेडा मर्नथालेपछि नदैपाटनबाट भेडाहरू कालाकाटिया तिर सारिएको किसानले जनाएका छन् । साथै पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले भेडाको रोग पत्ता लगाउन गाउँपालिकाले समन्वय गरेमा आवश्यक औषधी पठाइदिने बताए ।

पछिल्ला वर्षमा यस्तै अज्ञात रोग र चट्याङ्गका कारण भेडाहरू मर्न थालेपछि भेडापालन व्यवसायनै सङ्कटमा पर्ने देखिएको छ । पछिल्लो तीन वर्षको तथ्यांकनुसार जुम्लामा तीन सय बढी भेडा रोग प्रकोप र चट्याङ्ग लागेर मरेका छन् । तर किसानले उचित राहत भने पाएका छैनन् ।

भेडापालन व्यवसायलाई बढाउन र किसानलाई राहत प्रदान गर्न स्थानीय तहले ठोस नीति बनाउनु पर्नेमा सरोकारवालाको जोड छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button