बढी शुल्क लिने म्यानपावरलाई जरिवाना गर्न कानुनी प्रबन्ध गरिने
काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूबाट सरकारले तोकेभन्दा बढी शुल्क लिने म्यानपावरलाई पचास हजार रुपैयाँ जरिवाना लिने गरी कानुनी प्रबन्ध गरिने भएको छ ।
प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्दै सरकारले तोकभन्दा बढी शुल्क लिने कम्पनीलाई पचास हजार रुपैयाँ जरिवाना गर्ने सहमति जुटाएको हो ।

समितिले वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गर्दै म्यानपावर कम्पनीले व्यक्तिसँग बढी शुल्क लिए सो रकम फिर्ता गराई एक जनाबाट बढी शुल्क लिएबापत थप पचास हजार रुपैयाँ जरिवाना गर्ने सहमति गरेको हो ।
यसअघि कम्पनीले जति जनासँग बढी शुल्क लिए पनि एक लाख रुपैयाँ मात्र जरिवाना गर्ने व्यवस्था थियो ।
यसैगरी विधेयकमा कुनै पनि मुलुकबाट नेपाल डिपोट भए ३ वर्षसम्म कुनै पनि देशमा जान नपाउने व्यवस्था गरिएकोमा त्यसलाई संशोधन गर्दै सम्बन्धित देशमा मात्र एक वर्ष जान नपाउने कानुनी व्यवस्था गर्ने सहमति जुटाएको छ ।
बैठकले सामाजिक सुरक्षा कोषमा १५ गतेभित्र रकम जम्मा गर्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै १० दिन बढाएर २५ गते राख्ने सहमति गरेको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गरिरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्