मधेश प्रदेशका मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
मधेश भवनमा रहेको कवर्ड हलमा आज आयोजना गरिइएको विशेष समारोहका बीचमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सिंहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
६ दलको समर्थनमा मुख्यमन्त्री बन्नु भएका जनमत पार्टीका प्रदेश सभा सदस्य सतिश कुमार सिंह सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नंं २ को १ वाट जनमत पार्टीका तर्फबाट निर्वाचित हुनु भएको थियो । यस अघि मधेश प्रदेशको अर्थ समितिका सभापति रहनु भएका सिंह सप्तरी जिल्लाको तिलाठी कोईलाढी गाउँपालिकाका स्थानीय तहको पहिलो चुनावमा अध्यक्ष पदमा निर्वाचित भएर काम गरिसक्नु भएको छ ।
पेशाले इन्जिनियर रहनु भएका सिंहको बुबा शेखर कुमार सिंह राष्ट्रिय सभाका सदस्य रहनु भएको छ । मधेश प्रदेशमा बसोबास गर्ने अल्पसङ्ख्यक राजपूत समुदायका मुख्यमन्त्री सिंह रहनु भएको छ । मधेश प्रदेश सभामा रहेको चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीले शुरु देखि नै मुख्यमन्त्रीको दाबी गर्दै आएकाे थियाे ।
जनमत पार्टीका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जनमत पार्टीका अतिरिक्त नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्ट, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर ५५ जना प्रदेश सभाका सदस्यहरूको समर्थन सहितको पत्र प्रदेश प्रमुख समक्ष आज बिहान बुझाएपछि मुख्यमन्त्री पदमा सिंह नियुक्त हुनु भएको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री पद जनमतले पाएपछि मधेश प्रदेशमा विगत ७ वर्ष देखि सत्ताको नेतृत्व गर्दै आएका जनता समाजवादी पार्टी सत्ताको नेतृत्वबाट बाहिर गएका छन् । यसै बीच नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले आजै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको पार्टीका सचिव विपि साहले जानकारी दिनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्