तपाईँ सुन्दै हुनुहुन्छः

लोक सेवा आयोगले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने

‘प्रतिभा पलायन हुनबाट रोक्नु नितान्त आवश्यक’

काठमाडौँ । लोक सेवा आयोगले आयोगको वार्षिकोत्सव तथा स्थापना दिवस आगामी असार १ गते विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

आयोगको वार्षिकोत्सवका सन्दर्भमा आज आयोगमा सरोकारवाला सरकारी निकायहरूबिच भएको छलफल कार्यक्रममा आयोगका सदस्य वीर बहादुर राईले स्वदेशमै प्रतिभाको कदर गरी प्रतिभा पलायन हुनबाट रोक्नु नितान्त आवश्यक भइसकेको बताउनुभयो ।

आयोगको वार्षिकोत्सवका सन्दर्भमा आयोगले बनाएको प्रचार प्रसार समितिका संयोजक समेत रहनुभएका आयोगका सदस्य राईले वार्षिकोत्सव अवसरमा विभिन्न सचेतना लक कार्यक्रमहरू सञ्चालन गरिने र त्यसबाट स्वदेशमै रहेर पनि कडा मिहिनेत गर्दा हरेक क्षेत्रमा सफल हुन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने गरी कार्यक्रमहरू तय गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा लोक सेवा आयोगका सचिव राजकुमार श्रेष्ठले निर्भिक र निष्पक्ष रुपमा राष्ट्रको सेवा गर्ने अवसरको उपयोग सरोकारवाला सबैले गर्नुपर्ने आयोगको सोच रहेको बताउनुभयो ।

यस्तै आयोगका उपसचिव एवं वार्षिकोत्सव समारोहका लागि आयोगका फोकल पर्सन एकनारायण शर्माले आयोगको वार्षिकोत्सवका अवसरमा रेडियो नेपालबाट परिसंवाद र अन्तरसम्वाद कार्यक्रम उत्पादन तथा प्रसारण गरिने, नेपाल टेलिभिजनबाट परिसंवाद कार्यक्रम प्रसारण गरिने र गोरखापत्रमा आयोगको क्रियाकलापहरू समेटिएको जनाकारी मूलक सामाग्री प्रकाशन गरिने जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेलसहित नेपाल टेलिभिजन, गोरखापत्र संस्थान,रासस,विज्ञापन बोर्ड,सूचना तथा प्रसारण विभाग लगायतका सरोकारवाला सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button