तपाईँ सुन्दै हुनुहुन्छः

५० लाखको लागतमा पोखराको अर्को पर्यटकीय गन्तव्य फेवाताल पारी पदमार्ग निर्माण 

पोखरा । पर्यटनको राजधानी पोखरामा नयाँ पर्यटकीय गन्तव्य निर्माण भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पदमार्ग निर्माण भएकोले आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि नयाँ गन्तव्य निर्माण भएको हो । 

पोखराको ड्यामसाइड देखि अनदुसम्म करिब ४ किलोमिटर क्षेत्रमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त छोटो दुरीको पदमार्ग निर्माण भएको हो । भ्यु फेवा, राउन्ड फेवा पदमार्ग नाम दिइएको उक्त पदमार्ग हालै सञ्चालनमा आएसँगै पोखराको मुख्यबजार देखि नजिक रहेको उक्त पदमार्गको अब प्रबद्र्धन गरी पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई त्यहाँसम्म पुर्‍याउन सके पोखरामा पर्यटकको एक दिनको बसाई अवधि लम्बिने पर्यटन व्यवसायीहरूले बताउनु भएको छ । पोखरा २२ मा पर्ने अनदु देखि ड्यामसाइड क्षेत्रको फेवाताल किनारामा पदमार्ग निर्माण भएसँगै स्थानीयहरू समेत खुसि हुनु भएको छ । पोखरा १७ को ड्यामसाइडको वनस्पति पार्कबाट अनदुसम्म रानीवनमा पर्ने उक्त पदमार्ग करिब ४ किलोमिटरको रहेको छ ।

पोखरा आउने अधिकांश पर्यटकहरू पद यात्रामा जान चाहेका हुन्छन् यद्यपि धेरै ठाउँका पद मार्गहरू मासिँदै सडकमा परिणत भएको अवस्थामा पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको किनारमा पर्यटकहरूको लागि उत्कृष्ट गन्तव्य बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखरालाई आधार बनाएर हिमाल आरोहण देखि पदमार्गमा जानेहरूको पूर्व तयारी स्वरूप उक्त छोटो दुरीको पदमार्ग एक कोशेढुंगा सावित हुन सक्ने उहाँको भनाई थियो । लामो दुरीको पद यात्रा गर्न नसक्नेहरूको लागि पोखराबाट निकै नजिक फेवाताल किनारमा रहेको उक्त पदमार्गको उचित प्रचार प्रसार गर्न सके यसबाट पोखरामा पर्यटकहरूको एक दिनको बसाई अवधि लम्बाउन सकिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

उकालो र ओरालो भन्दा पनि ताल किनारामा उक्त पद मार्ग भएकोले प्रायः सबै उमेर समूहका व्यक्तिहरूको उत्कृष्ट पदमार्ग हुन सक्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनु भयो । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउन उक्त पद मार्गले थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । 

हाल निर्माण भएको उक्त पदमार्ग करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हिमलाल बरालले बताउनु भयो । आफूहरूले फेवाताल किनारमा ड्यामसाइड देखि रानीवन हुँदै, अनदु, रातमाटा, शसर्को हुँदै खपौदीसम्म जोड्न करिब ९ किलोमिटरको पदमार्गको अवधारणा अघि सारेको बताउनु भयो । आउँदो वर्षमा आफूहरूको योजना अनुरुप उक्त पद मार्ग पूरा गर्न करिब १ करोड बजेट आवश्यक भएको उहाँले जनाउनु भयो । पोखराको मुख्य बजार देखि नजिक भएर पनि सामान्य कच्ची बाटो शान्ति स्तुपाः देखि अनदुसम्म जोडिएको छ । गुरुङ बस्तीको बाहुल्यता रहेको अनदुका स्थानीय बासिन्दा पोखराको मुख्य बजारमा आउँदा डुङ्गाबाट सिधै लेकसाइड तथा ड्यामसाइड आउन सकिन्छ भने शान्ति स्तुपाबाट जाँदा कच्ची सडक मार्ग हुँदै पोखराको मुख्य बजारमा आउन सकिन्छ ।

गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले बताउनु भयो । प्रदेशको पर्यटन प्रबद्र्धन गर्ने छोटो पदमार्गको रुपमा आफूहरूले भ्यु फेवा, राउन्ड फेवा पदमार्गको प्रबद्र्धन गर्न खोजेको उहाँको भनाई छ ।

आफ्नो गाउँ फेवाताल पारी भएर पनि बत्तीमुनिको अँध्यारो रहेको उल्लेख गर्दै पदमार्ग उपभोक्ता समितिका अध्यक्ष तोपेन्द्र गुरुङले अब भने आफूहरूमा आशा पलाएको बताउनु भयो । हावाहुरी र बढी वर्षा हुँदा ताल वारिपारि गर्नु निकै जोखिमपूर्ण भएको अवस्थामा पद मार्ग बन्नुले आफूहरूलाई वैकल्पिक बाटो समेत भएको उहाँले जनाउनु भयो । 

पदमार्ग निर्माणसँगै पोखरामा आएका जो कोही पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखरा बजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने र यो उत्कृष्ट गन्तव्य हुने टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले दाबी गर्नु भयो । पोखराको मुख्यबजार क्षेत्रबाट नजिक रहेको यस पदमार्ग गर्दा एक घण्टा डुङ्गा सयर देखि ३/४ घण्टाको पद यात्रा हुने उहाँले जनाउनु भयो । रानीवनमा विभिन्न प्रकारका चराचुरुङ्गी देखि विभिन्न वनस्पतिहरू अवलोकन गर्न पाइने अर्को विशेषता यस पदमार्गमा रहेको छ । छोटो दुरीको पदमार्गको सोमबार पर्यटन व्यवसायी, पर्यटक, पत्रकार विभिन्न संघ संस्थाका पदाधिकारीले स्थलगत अवलोकन गरेका छन् । अन्नपूर्ण आरोहण दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button