शिक्षा समिति बैठक: नेपाल विश्वविद्यालय विधेयकमाथि दफावार छलफल

काठमाडौँ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिको आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि दफावार छलफल भएको छ ।
छलफलमा सांसदहरु बद्री पाण्डे, डाक्टर तोषिमा कार्की लगायतले प्राज्ञिक व्यक्तिहरूमध्येबाट खुला प्रतिस्पर्धा गरी कुलपति नियुक्त हुने प्रावधानसहित राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकमा कुलपति कार्यकारी बनाइ उपकुलपतिलगायतका पदहरू घटाउन प्रस्ताव गर्नुभयो ।
केन्द्रीय विश्वविद्यालयको रुपमा मात्रै सञ्चालन गरिने र सम्बन्धन र आङ्गिक क्याम्पसहरू नहुने हुँदा विश्वविद्यालयको पदाधिकारीलाई अनुगमन गर्न संरक्षण परिषद्लाई अधिकार दिनुपर्ने सांसदहरुले प्रस्ताव गर्नुभयो ।
बैठकमा शिक्षा सचिव डाक्टर दिपक काफ्लेले छलफलबाट विश्वविद्यालयको कुलपति वा उपकुलपतिमध्ये एक नराख्न पनि सकिने बताउनुभयो ।
नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डाक्टर अजुर्न कार्कीले आफूहरूले नेपालमा फरक किसिमको विश्वविद्यालय परिकल्पना गरेको बताउँदै कुलपति कार्यकारी रहने व्यवस्था विधेयकमा समावेश गर्ने हो भने संरक्षण परिषद्लाई त्यसभन्दा माथिल्लो निकायका रुपमा राख्न सुझाव दिनुभयो ।
बैठकमा समितिका सभापति अम्बर बहादुर थापाले गण्डकी विश्वविद्यालय र मदनभण्डारी प्राविधिक विश्वविद्यालयको प्रावधानसमेत अध्ययन गरी नेपाल विश्वविद्यालयको पदाधिकारी कस्तो रहने भन्ने विषयमा टुङ्गो लगाइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्