बुद्ध मावली देवदहको खयरडाँडामा उत्खनन् सुरु

रुपन्देही । गौतम बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन् आजदेखि सुरु गरिएको छ ।
देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्त्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका–९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो ।
देवदह नगरपालिका नगरप्रमुख ध्रुव खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रुपमा कुटोले भुईँ खनेर शुभारम्भ गर्नुभयो ।
बजेट अभावका कारण पुरातात्त्विक स्थलहरूको उत्खनन्, अन्वेषणमा हुन नसकिरहेको बेला देवदह नगरपालिकाले १० लाख बजेट छुट्याएर उत्खनन् थालेको छ । स्थानीय पालिकाले साझेदारीमा उत्खनन् गरेको यो पहिलो रहेको बताइएको छ ।
नगरप्रमुख खरेलले पुरातात्त्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताउँदै उत्खनन्का लागि आगामी वर्षमा पनि बजेट छुट्याएर काम गर्ने जनाउनुभयो । उहाँले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्त्विक स्थलहरूको उत्खनन् र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफूहरूले पहल गर्ने प्रतिबद्धता गर्नुभयाे ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्त्विक स्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताउँदै देवदहको भग्नावशेष क्षेत्रहरूमा उत्खनन् हुँदा यसले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने जानकारी दिनुभयो । उहाँले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्त्विक उत्खनन् गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गत वर्षदेखि उत्खननलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
गत वर्ष जेठ १७ गतेदेखि गरेको उत्खननमा प्राचीन पर्खाल र प्राचीनतम् इनारका संरचना फेला परेका थिए । एक÷एक महिनासम्म चल्ने उत्खननमा लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्त्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल खटिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्