बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

गुल्मी । पछिल्लो समय स्थानीय सरकारले स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न विभिन्न काम गरिरहेका छन् । कतिपय स्थानीय सरकारले कृषि पशुपालन र कतिपयले विभिन्न सीपमूलक तालिम दिएर रोजगारीमा जोड्न सुरु गरेका छन् ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाले बाँसबाट निर्माण हुने विभिन्न सामाग्री बनाउन महिलाहरूलाई तालिम दिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मी सँगको साझेदारीमा तालिम दिइएको हो ।

‘सीप सिकौँ : आत्मनिर्भर बनौँ’ भन्ने उद्देश्यले गाउँपालिकाले १५ जना महिलालाई ३९० घण्टे तालिम प्रदान गरेको हो । गाउँघरमा खेर गएका बाँसबाट हस्तकलाका सामाग्री निमार्ण गरी महिलालाई आत्मनिर्भर बनाउन तालिम दिइएको हो ।
तालिम बाट १५ जना महिलाले १३ प्रकारका बाँसका सामाग्री बनाउन सिक्नुभएको छ । आफ्नो वरपर यतिकै खेरा जाने बाँसबाट सामग्री बनाएर बेच्न सके आयआर्जनमा वृद्धि हुने आशा राख्दै समूह बनाएर यसलाई निरन्तरता दिने तालिममा सहभागी महिलाहरूको भनाई छ ।

बाँसको सामाग्रीले प्लास्टिकजन्य सामाग्रीलाई विस्थापन गर्ने अपेक्षा पालिकाको रहेको छ । तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार बन्न गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले आग्रह गर्नुभयो । तालिमले थोरै लगानीमा आफ्नै हातको सिपले स्थानीय स्तरमा उपलब्ध हुने स्रोत साधनको परिचालन गदै आर्थिक आर्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण महिलाहरूलाई दिएको छ ।
त्यस्तै गुल्मीको चन्द्रकोट गाउँपालिकामा सीपमूलक तालिम दिइएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा वडा नम्बर-१ दिबुरुगंमा महिलाहरूका लागी १५ दिने मुढा बुन्ने सीपमूलक तालिम दिइएको हो ।
स्थानीय स्तरमा खेर गएका बाँसका सामाग्री प्रयोग गरि मुढा बनाउन सकिने हुँदा उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

तालिममा राम्रो सँग मुढा बुन्न सक्ने भएको र आगामी दिनमा व्यवसायीक बनाउँदै लैजाने सहभागी महिलाहरूले बताउनुभयो ।
महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिकाको भनाई छ । साथै समय अनुसार तालिमको स्तर वृद्धि गर्दै उत्पादित सामाग्रीको बजारीकरणमा सहयोग गर्ने गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । चन्द्रकोट गाउँपालिकाका विभिन्न शीर्षक सँगै अन्य सरकारी तथा गैर सरकारी संस्था सँग समन्वय गरेर वडामा महिला तथा पुरुषको माग अनुसार मौरीपालन, आलु खेती र जुता चप्पल बनाउने तालिम दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्