तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन

काठमाडौँ । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

चितवनको भरतपुर महानगरपालिका–६ देव नगरमा निर्माण गरिएको ३३-११ केभी क्षमताको सब स्टेसन तथा गोन्द्राङ–देव नगर ३३  केभी प्रसारण लाइन उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज संयुक्त रुपमा सब स्टेसन तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको उप कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।  

उद्घाटन कार्यक्रममा प्रमुख दाहालले विद्युत् आपूर्तिमा रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताबाट आउने गुनासो देव नगर सब स्टेसन सञ्चालनमा आएपछि सम्बोधन हुने बताउनुभयो ।  

चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सब स्टेसन निर्माण भएको उल्लेख गर्दै प्रमुख दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने कार्य गर्न आग्रह गर्नुभयो । महानगरपालिकाका उपप्रमुख चित्र सेन अधिकारीले सब स्टेसन सञ्चालनमा आएसँगै महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताउनुभयो । 

चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र जङ्ग थापाले सब स्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा महानगरपालिकामा हुने विद्युत् मागमा प्रक्षेपण गरी २४ सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताउनुभयो । 

महानगर क्षेत्रमा भइरहेको तीव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सब स्टेसनमा जोड्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक सिलवालले विद्युत् मागबमोजिम आपूर्ति दिन नसकेर त्यस क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको देव नगर सब स्टेसन बनेपछि अन्त्य भएको उल्लेख गर्नुभयो । उहाँले अब त्यस क्षेत्रमा माग बमोजिम गुणस्तरीय र पर्याप्त विद्युत् दिन सकिने बताउनुभयो । 

देव नगर सब स्टेसनबाट महानगरपालिकाका वडा नं ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत् आपूर्ति दिइएको छ । सब स्टेसनमा  २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । त्यसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ । 

वडा नं-११ स्थित १३२ केभी बसेनी सब स्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी, सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देव नगर सब स्टेसनसम्म पुर्‍याइएको छ । गोन्द्राङबाट देव नगर सब स्टेसनसम्म झण्डै नौ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देव नगर सब स्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार फिडर निकालिएका छन् । 

देव नगर सब स्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेम बस्ती, शिव नगर, फूलबारी, गितानगर, पटिहानी, सिता माई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई  आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको छ । 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना ९प्याकेज–९० अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा ३३ केभी लाइन र सब स्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देव नगर ३३ केभी प्रसारण लाइन र सब स्टेसनको लागत रु १० करोड रहेको आयोजना निर्देशक-संयोजक अच्युत घिमिरेले जानकारी दिनुभयो । 

सब स्टेसन तयार भए पनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सब स्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो ।  कोभिड–१९को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु पर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माणमा केही ढिलाइ भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button