प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरूबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भएको हो। छलफलमा प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको काँग्रेस प्रमुख सचेत रमेश लेखकले जानकारी दिनुभयो ।
छलफलपछि काँग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर काङ्ग्रेससँग पुनः छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै काँग्रेसले छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।
काँग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद्का कुनै काम कारबाही अघि बढाउन नदिने अडान लिएको छ । काँग्रेसको सोही मागका कारण संसद्को वर्खे अधिवेशन प्रभावित हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्