इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताउनुभएको छ ।
इतिहासकार नेपालको निधनको खबरले आफूलाई दुःखी बनाएको राष्ट्रपति पौडेलले आज पठाउनुभएको समवेदना सन्देशमा उल्लेख छ ।
“तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दक्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ ।
इतिहासकार नेपालका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका कृति एवं कैयौँ अनुसन्धान तथा खोजमूलक लेख रचना चिरकालसम्म ज्ञानका भण्डारका रुपमा रहिरहने राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले इतिहासकार नेपालका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्