पर्सा जिल्ला पूर्ण खोप जिल्ला घोषणा

वीरगंज । पर्सा जिल्लालाई आज पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साको आयोजनामा आज वीरगंजमा एक कार्यक्रमका बीच पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
पर्सा जिल्ला पूर्ण खोप घोषणा भएको प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि एवं मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोद कुमार यादवले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा मधेश सचिव यादवले सबैको साथ सहयोगले गर्दा पर्सालाई पूर्ण खोप घोषणा गर्न सफलता प्राप्त भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि खोप कार्यक्रम निरन्तर चलिरहने बताउनुभयो । मानव जीवनमा खोपको आविष्कार महत्वपूर्ण भएको भन्दै उहाँले सङ्घले खोप खरिद गर्ने, प्रदेशले भण्डारण गर्ने र स्थानीय तहले वितरण गर्ने गरेको बताउनुभयो । पूर्ण खोप घोषणा पश्चात् अब मधेश प्रदेशको ध्यान कुपोषणमुक्त र सुरक्षित मातृत्वमा हुने सचिव यादवको भनाइ थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले पर्सा जिल्लालाई पूर्ण खोप घोषणा गर्न स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
पर्सा जिल्ला हरेक हिसाबले सुगम हुँदा हुँदै पनि पूर्ण खोप घोषणा गर्न ढिलाइ भएको भन्दै उहाँले आगामी दिनमा यस्ता कुराहरूबाट पाठ सिक्नुपर्ने बताउनुभयो । त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा.मुक्ति नारायण साहले पूर्ण खोप जिल्ला घोषणा हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको बताउनुभयो ।
आगामी दिनमा पनि खोप कार्यक्रमको अपनत्व स्थानीय तहले लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला खोप समन्वय समिति पर्साका सह–संयोजक पुरन प्रसाद कुर्मी, स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा.राजीव झा, परिवार कल्याण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत संजय महासेठ, पर्साका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्