नीति तथा कार्यक्रम: सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने
काठमाडौँ । सरकारले राष्ट्रिय हित, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा एवं आर्थिक समुन्नतिलाई केन्द्रमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताको आधारमा परराष्ट्र नीति अवलम्बन गरिने उल्लेख छ ।
त्यस्तै, मुलुकको विशिष्ट अन्तर्राष्ट्रिय पहिचान कायम गर्ने गरी परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने सरकारको नीति रहेको छ । नीति तथा कार्यक्रममा भनिएको छ, “राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, रणनीतिक पूर्वाधार एवं सामाजिक–आर्थिक रूपान्तरणका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गरिनेछ ।”
संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्च तथा संस्थामा नेपालको भूमिकालाई थप सशक्त बनाइने र अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपाल र नेपालीको हितका लागि पैरवी गरिने नीति सरकारले लिएको छ । त्यस्तै, विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा निकायका नेतृत्व तहमा नेपालको प्रतिनिधित्व बढाउन पहल गरिनेछ ।
वैदेशिक लगानी तथा व्यापार, रोजगारी र पर्यटन प्रवद्र्धन गर्न सक्षम आर्थिक कूटनीति सञ्चालन गर्न संस्थागत क्षमता सुदृढ तुल्याइने र गैरआवासीय नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको विकास र समृद्धिका लागि उपयोग गर्ने सरकारको नीति छ । रासस







प्रतिक्रिया राख्नुहोस्