तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरण आवश्यक छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन, लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरण महत्वपूर्ण आवश्यकता भएको बताउनु भएको छ । 

उहाँले नेपालसहित दक्षिण एशियाली मुलुकका अगुवा महिलाहरूको सहभागितामा ललितपुरमा शुरु भएको ‘साउथ एसियन वुमन्स कन्फेरेन्स अन इकोनमिक इम्पावरमेन्ट–२०२४’ सम्मेलनको आइतबार समुद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । 

उहाँले भन्नुभयो, ‘डिजिटल रूपान्तरण मार्फत महिला सशक्तिकरण आजको आवश्यकता हो ।’ उपराष्ट्रपति यादवले  केही सामाजिक मान्यताहरू लैङ्गिक समानताको लागि ठूलो बाधा भएको उल्लेख गर्दै दक्षिण एसियामा आर्थिक वृद्धि, बढ्दो शिक्षा, र घट्दो प्रजनन क्षमताको बाबजुद अधिकांश विकासोन्मुख मुलुकहरूको तुलनामा महिलाहरू आर्थिक अवसरहरूबाट बञ्चित हुनु चिन्ताको विषय भएको बताउनु भयो । 

आर्थिक सशक्तीकरणमा महिलाको आर्थिक अधिकार, न्यायको प्रवर्द्धन र कार्यस्थलहरूमा लैङ्गिक अन्तर रोक्नु पर्ने जस्ता विषयहरू समावेश छन् ’ उहाँले भन्नुभयो, ‘ त्यस अनुरुप कार्य हुन आवश्यक छ । अझ नीति निर्माण र आर्थिक विकासमा महिलाको भूमिकालाई थप एकीकृत गर्दै अघि बढ्न सक्नु पर्दछ ।’  

उपराष्ट्रपति यादवले राजनीतिमा नेपालले महिला सशक्तीकरणको क्षेत्रमा केही फड्को मारे पनि लैङ्गिक समानता, महिला उद्यमशीलता र वित्तीय स्रोतमा पहुँच जस्ता महत्वपूर्ण क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताउनु भयो । 

‘व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन, कृषि र अन्य विभिन्न क्षेत्रमा महिला सहभागिता आवश्यक छ ’ उहाँले भन्नुभयो, ‘महिलाहरूको आर्थिक सशक्तीकरणमा बाधा पुर्‍याउने चुनौतीहरूलाई पहिचान गरी सामूहिक रूपमा सम्बोधनका लागि यो सम्मेलन कोशेढुंगा बन्ने विश्वास लिएको छु ।’

उहाँले महिलाहरूलाई विकासको मूलधारमा ल्याउनु आजको संसारमा प्रगति र सान्दर्भिकताका लागि आवश्यक मात्र नभई अत्यन्तै महत्वपूर्ण भएको समेत बताउनु भयो ।‘यो सम्मेलनले दक्षिण एसियाली महिला उद्यमीहरू र आर्थिक क्षेत्रमा क्रियाशील महिलाहरूबीच नेटवर्किङका लागि एउटा राम्रो अवसर प्राप्त हुने विश्वास पनि लिएको छु ’ उहाँले भन्नुभयो, ‘नेपाली महिला उद्यमीहरू र सहभागीहरूका लागि नेटवर्किङका अलावा अन्य दक्षिण एसियाली देशहरूबीच संयुक्त व्यापार व्यवसायलाई प्रवर्द्धन गर्न सम्मेलनले उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button