बैतडी जिल्ला अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG_6622-1024x540.jpg)
बैतडी । विगत ९ महिना देखिको अतिरिक्त सेवा र बिदाको दिन गरेको काम बापतको रकम नपाएको भन्दै बैतडी जिल्ला अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सकहरू आजदेखि इमरजेन्सी सेवा बाहेकका सेवाहरू बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाब स्वरूप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा.हरिश्चन्द्र बिष्टले बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG_6592.jpg)
उहाँले भन्नुभयो, “मन्त्रालयले आवश्यकता नै नभएका भौतिक कामहरूमा लगानी गरिरहेको छ तर हाम्रो पारिश्रमिकमा कुनै चासो दिएको छैन, कहिले मन्त्रालयमा छैन भन्ने, कहिले मन्त्री छैन भन्ने, एक पटक मन्त्री पनि हुनुभयो हाम्रो माग अघि बढेन, अहिले मन्त्री छैनन् भन्ने कुरा छ, नयाँ मन्त्री नहुँदासम्म हामीले पारिश्रमिक नपाउने हो भने त्यो दिनसम्म हामी सेवा पनि ठप्प गछौँ, हाम्रा मागप्रति सरकारले चासो नदिएसम्म आन्दोलन रहन्छ ।”
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG_6632.jpg)
निमित्त प्रमुख डा.बिष्टले आजै निमित्तको जिम्मेवारी समेत त्यागेर कार्यकक्षमा ताला लगाउनुभएको छ । उहाँले जिम्मेवारी छाडेको पत्र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मालाई बुझाउनुभएको छ ।
बिरामीको सेवामा अहोरात्र खटिँदा समेत मन्त्रालयले आफूहरूको रकम भुक्तानी नगरेको चिकित्सकहरूको भनाई छ । डाक्टर मात्र नभई जिल्ला अस्पतालका अन्य कर्मचारीहरूले समेत अतिरिक्त सेवाबापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डा. धिरज जैसवालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विगतदेखि नै आफूहरूको रकम भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन ।”
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG_6591-1024x791.jpg)
अस्पतालका ९० बढी कर्मचारीले करिब ४९ लाख रकम पाउन बाँकी रहेको छ । अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका बिरामी तथा सेवाग्राहीहरूलाई समेत समस्या हुने देखिएको छ ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएकाले बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG_6668.jpg)
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरूलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरूलाई आग्रह गर्नुभयो उहाँले भन्नुभयो “तपाँईहरुका जायज मागको बारेमा मैले पनि सचिव ज्यूसँग कुरा गरेको छु आशा छ समस्या समाधान होला, नागरिकहरूलाई तथा बिरामीहरूलाई मर्का पर्ने काम गर्नु भएन ।”
आन्दोलनका कार्यक्रम गर्ने क्रममा कानुनलाई हातमा नलिन अस्पतालका चिकित्सकहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG_6639.jpg)
प्रतिक्रिया राख्नुहोस्